मिति २०८१/०३/३० गते ने.सं.११४४ दिल्लाथ्व अष्टमी
टौखेल हाईट बलामी गुथी समाजद्वरा आयोजित स्थानीय तथा नेवाः संस्कृति संरक्षणमा सहकार्य अन्तरगत धिमे बाजा तथा बांसुरी बाँजा प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको छ। समापन कार्यक्रम अन्तरगत गुथि समाजले विहान ७ बजेदेखि ९ बजेसम्म धिमे बाँजा तथा बाँसुरी बाँजा शिक्षार्थीहरुलाई स्थानीय मन्दिर ईचंगु नारायण मन्दिर, नासस् द्य, हरसिध्दि मन्दिर, महाँकाल मन्दिर, टौखेल स्थित ज्योतित्यश्वर मन्दिर र कोट्श्य भैरव मन्दिरमा परिक्रमा गराएको थियो। साथै गुठी पदाधिकारी र प्रशिक्षकहरुले परम्परागत विधिबाट मन्दिरहरूमा पुजा गरेका थिए।
कार्यक्रममा गुथि समाजका पदाधिकारी, प्रशिक्षक र शिक्षार्थीहरू गरी करिब १२० जनाको उपस्थिति रहेको थियो।
समापनको औपचारिक कार्यक्रम शुरु हुनु अघि प्रशिक्षार्थीहरूले दिउँसो ३ बजे देखि गुथि भवनबाट टौखेल स्थित ज्योतित्यश्वर मन्दिर हुदै कोट्श्य भैरव मन्दिरसम्म बाँजा सहित पहिलो पटक टोल परिक्रमा गरेको थिएँ।
दिउसो ६ ०० बजे औपचारिक समापन कार्यक्रममा नागार्जुन नगरपालिका नगर प्रमुख, मोहन बहादुर बस्नेत, वडा नं ६ का अध्यक्ष देवेन्द्र राज गिरी,वडा सदस्यहरु, नेवा: हरुको राष्ट्रिय सँगठन नेवा: देय् दबूका महासचिव सत्य नारायण डँगोल लगायत प्रतिनिधिहरू, गुथि समाजका थकाली कृष्ण बहादुर बलामी, अध्यक्ष भाईकाजी बलामी श्रेष्ठ, अन्य पदाधिकारी, प्रमुख प्रशिक्षक प्रेम कुमार श्रेष्ठ, शिक्षकहरू सुन्दर श्रेष्ठ र सविन प्रधान लगायतको उपस्थिति रहेको थियो। समापनको औपचारिक कार्यक्रममा शिक्षार्थीहरूले धिमे तथा बासुरी बाँजा र सांस्कृतिक नृत्य प्रस्तुती गरेका थिए । साथै प्रशिक्षकको समेत प्रस्तुति रहेको थियो । मिति २०८१/०२/१३ गतेबाट मिति २०८१/०३/३० गतेसम्म संचालन भएको उक्त कार्यक्रममा हाल ४० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा विशेष गरी युवा प्रशिक्षार्थीहरुको बाहुल्यता रहेको थियो । बाँजा प्रशिक्षण कार्यक्रमको दौरानमा नेवारी परम्परागत रूपमा पुजा कार्य भएको थियो। विशेष गरी बाँजा प्रशिक्षणको लागि नास: द्य देवीको पुजा कार्यक्रमको शुरुवातमा प्राण प्रतिष्ठा तथा मध्यान्तर (बास: पुजा ज्याझ्व) र समापनको दिनमा विशेष पुजा गरिएको जानकारी गुथि समाजले दिएको छ ।
गुथि समाजले नागार्जुन नगरपालिकाबाट बाँजा, नेवाःको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट प्रशिक्षकको व्यवस्था गरी गुथि समाजको गुथि भवनमा कार्यक्रम संचालन गरेको थियो । टौखेल हाईट बलामी गुथी समाजको संस्कृति संरक्षण तथा पुस्तान्तरण प्रयास सराहनीय छ । यो प्रशिक्षणबाट गुथि समाजले अमूर्त अमूल्य नेवाः संगीत संस्कृति संरक्षणमा युवा सहभागितालाई प्रोत्साहित गरेको छ । उक्त समापन कार्यक्रमा नेव: देय् द्बुका पूर्व अध्यक्ष नरेश ताम्राकारले सँस्कृति सँरक्षण सराहनीय रहेको बताउनुभयो। त्यसै गरी नगर प्रमुख मोहन बहादुर बस्नेतले गुथि भवन निर्माण र सँस्कृति सँरक्षणमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
त्यसै गरी वडा नम्बर ६ का पूर्व वडाध्यक्षले आफू सँस्कृति सँरक्षणमा सधैं लागि परेको बताउनु भएको छ।
साथै वडा नं ६ का वडाअध्यक्ष देवेन्द्रराज गिरीले वडा संस्कृति संरक्षणमा सहकार्य गर्न सधै तयार रहेको बताउनुभयो।
त्यसै गरी नेवा: देय् द्बुका महासचिव सत्य नारायण डंगोलले सँस्कृति नै पहिचानको आधार रहेको हुँदा यस्को सँरक्षणमा आफूहरु सधैं तयार रहेको बताउनुभयो। साथै टौखेल हाईट बलामी गुथी समाजसँग सहकार्य परिणाममुखी रहेको र पुन: सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।