पहिलो संस्करणको दक्षिण एसियाली यू-१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ। लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२-२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो।पहिलो क्वार्टरमा ८-८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वार्टरमा १६-४ को अग्रता बनाएको थियो।
यस्तै तेस्रोमा ११-८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वार्टरमा भने ७-८ ले पछि परेको थियो। श्रीलंकालाई प्रभावशाली जित दिलाउन प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अंकको योगदान गरिन्।
च्याम्पियनसिपमा घरेलु टोली नेपाल भने चौथो स्थानमा सीमित भयो। तेस्रो स्थानका लागि मंगलबार नै भएको खेलमा माल्दिभ्ससँग ३५-१८ ले पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भएको हो। घरेलु भूमिमा भएको पहिलो संस्करणमा माल्दिभ्सले नेपाललाई ३५-२५ ले पराजित गरी तेस्रो स्थान हासिल गर्यो ।
माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलिन्। च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी विजनायके सर्वोकृष्ट खेलाडी बनेकी छन्। श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेअर अफ दी च्याम्पियनसिप चुनिएकी हुन्।
श्रीलंकाकै हिरोनी हिसानी सर्वाधिक स्कोरकर्ता बनिन्। उनले च्याम्पियनसिपमा एक सय ५८ अंक जोडेकी थिइन्। यस्तै माल्दिभ्सकी मिस्का हसन बेस्ट डिफेन्डर घोषित भइन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाश मान सिहंले यस्तो ऐतिहासिक खेलकुदको आयोजना गरेर राष्ट्रको नाम राख्न सफल भएकोमा सम्पूर्ण आयोजकलाई बधाई तथा कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल नेटबल संघका अध्यक्ष तथा दक्षिण एसियाली नेटबल फेडरेसनका अध्यक्ष मोहन बहादुर बस्नेतले आगामी दिनहरुमा नेपालले नेटबलको अन्तराष्ट्रिय खेलहरुमा भाग लिएर आफ्नो देशलाई विश्व सामू चिनाउने काम गर्नेछ भन्दै यो खेल सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहभागी मित्र राष्ट्रहरु तथा यसमा आवद्ध सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक संघका अध्यक्ष मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए।
नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।