काठमाडौं, भदौ ६ गते । नागार्जुन नगरपालिका वडा नं २ को वडा कार्यालयको आफ्नै भवन शुक्रवार शिलन्यास गरिएको छ । एक वर्षभित्र वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाको २ नं वडा कार्यालय भवन शिलन्यास गरिएको हो । वडा नं २ स्थित तीनघरेमा तीन करोड रुपियाँ लागतमा भवन निर्माण हुन लागेको हो । वडा कार्यलय भवन शिलन्यास पश्चात नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले वडा कार्यलयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउनुभयो ।
प्रमुख बस्नेतले विविध प्राविधिक कारणहरुले गर्दा स्रोत र साधनहरु भएपनि सोचे जति कामहरु गर्न नसकेपनि यसलाई अवसरको रुपमा हेरेर विकास निर्माणका काममा अघि बढेको उल्लेख गर्नुभयो । यस वर्षभित्र चारवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्य नगरपालिकाले लिएको जानकारी दिदै उहाँले क्रमिक रुपमा सबै वडा कार्यालयको भवन बनाउँदै जाने बताउनुभयो ।उहाँले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने स्पष्ट गर्नुभयो ।
समायोजित कर्मचारी नगरपाकिलामा आउने क्रम जारी रहेको र नगरपालिकालेऐन, नियम र कार्यविधि निर्माण प्रक्रियालाई समेत तिब्ररुपमा अगाडि बढाएकाले अब क्रमिक रुपमा सेवा प्रवाह झनै प्रभावकारी हुने प्रमुख बस्नेतले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले सार्वजनिक जमिन संरक्षण गरी उक्त स्थानमा सार्वजनिक महत्वका पूर्वाधार निर्माण गर्ने क्रम अगाडि बढाएको भन्दै उहाँले अहिलेसम्म नगरपालिकाले ४० हजार फलफूलका बिरुवा स्थानीय किसानलाई वितरण गरिसकेको जानकारी दिनुभयो । उहाँले चाडै नै हरेक घरमा अग्नि नियन्त्रक यन्त्र पनि वितरण गर्ने योजना रहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले वडा नं २ मा विकास निर्माणका कार्य धेरै भईसकेको बताउनुभयो । उहाँले अहिले बन्न लागेको भवनको जग बलियो हुन पर्ने र वर्षौ सम्म टिक्ने भवन बन्नु पर्ने बताउनु भयो । उहाँले वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समयभित्रै वडा कार्यालय भवन निर्माण गर्न पनि निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाका प्रशासन प्रमुख कृष्ण प्रसाद सापकोटले भवन निर्माणको काम चाडै नै सफलता पूर्वक सम्पन्न होस् भनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई सँगसँगै अगाडि बढाएको बताउनुभयो ।निर्धारित समयभित्रै काम सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गर्दै उहाँले सुशासन, पारदर्शिता र सदाचारका विषयलाई नगरपालिकाले उच्च प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष थुमराज केसीले यो नव निर्मित भवन डी पी आर अनुसार साढे तिन करोड लागत लाग्ने र एक वर्षभित्रमा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले लिफ्ट सहितको साढे तिन तल्लाको आधुनिक भवन बन्न लागेको बताउनुभयो । वडा नं २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता थुमराज केसीले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताउनुभयो ।
सो कार्यक्रममा पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान र समाजसेवी विदुर धमला लगायतले कार्यालय भवन निर्माण गर्ने सवालमा आफूहरुको साथ र सहयोग हुने बताउनुभयो ।